- गोपाल पोखरेल

नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको अविश्वासका कारण गत निर्वाचनमा काँग्रेसले नराम्रोसंग हार व्यहोर्नु परेको आरोप लगाउनु भएको छ । उहाँले आगामी १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिँदै त्यही अभियानमा लाग्न समेत कार्यकर्तालाई आग्रह गर्नुभयो ।


गणेशमान स्मृती पुस्तकालय रुपन्देहीले आयोजना गरेको भिडियो अन्तरसंवाद कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रीय सदस्य सिंहले १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले समयको माग बमोजिम काम गर्न नसकेको कारण आम कार्यकर्ता र मतदातासंग समेत विश्वास टुटाएको बताउनु भयो । ‘कम्युनिष्टले गर्न नसकेको संविधान निर्माण र जारी गर्ने काम काँग्रेसले नै गरेको हो, संविधानलाई संस्थागत गर्ने दायित्व पनि काँग्रेसकै थियो ।’ उहाँले भन्नुभयो–‘मतमाग्न जाँदा मतदाताले तपाईको सभापति माथि विश्वास छैन भन्ने जवाफ दिए ।’


त्यस्तै पार्टी प्रवेशका नाममा अन्धाधुन्द कृयाशिल वितरण गर्न नहुने समेत उहाँले बताउनु भएको छ । पार्टीको १४ औं महाधिवेशनको तिथीमिती सार्वजनिक गरेर कार्यतालिका अनुसारका कार्यक्रम अंगाडी बढाउन समेत नेतृत्व चुकेको भन्दै उहाँले पार्टीप्रवेशका नाममा जो पायो उसलाई कृयाशिल दिने र पार्टीमा लामो समय काम गरेकालाई पाखा लगाउने काम नेतृत्वबाट भएकाले त्यसको बिरोध गर्नु परेको प्रष्ट्याउनु भयो ।


संविधान कार्यान्वयनमा दुई तिहाई रहेको कम्युनिष्ट सरकारले असफल भएको बताउँदै यो सरकारबाट अव कुनै प्रकारको आशा समेत नरहेको उहाँले बताउनु भयो । मुलुकको बिकास र समृद्धिका लागि बलियो काँग्रेस र काँग्रेस नेतृत्वको सरकार आवश्यक रहेको रमेत उहाँले भनाई राख्नुभयो ।कार्यक्रममा केन्द्रीय सदस्य डिला संग्रौलाले दुई तिहाईको कम्युनिष्ट सरकार भ्रष्टाचारमा चुर्लुम्म डुवेको र यसबाट मुलुकको समृद्धि र बिकास सम्भव नभएको बताउँदै मुलुकको नेतृत्वका गर्नको लागि बलियो काँग्रेसको आवश्यकतामा जोड दिनुभयो ।


नेपाली काँग्रेसको आसन्न १४ औ महाधिवेशन केन्द्रित राजनैतिक बहसको लागि गणेशमान सिंह स्मृती पुस्तकालयले आयोजना गरेको यो कार्यक्रम सातै प्रदेशमा गरिने छ । ‘नेपाली काँग्रेसको १४औ महाधिवेशन सुनिश्चितता स् निति, नेतृत्व र पार्टी संगठन’ विषयमा स्थानीय नेता कार्यकर्तासंगको अन्तरसंवाद आज ९सोमबार० कर्णाली प्रदेशबाट सुरु गरिएको हो भने मंसिर २७ गते बाग्मती प्रदेशमा पुगेर सकिने पुस्तकालयका अध्यक्ष तेजप्रसाद लामिछानेले जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया