काठमाडौं– ‘रोजगारी गुमाएकाको घरमा ठूलो अशान्ति छ। घरझगडाले निराशा बढेको पाएँ। जागिर दिलाइपाऊँ भन्ने पनि भेटिए। घरलेु हिंसा त बढेकै छ, मादक पदार्थको खपत पनि बढेको रहेछ,’ उनले सुनाए, ‘आर्थिक स्थिति खस्किएको छ। बालबालिकाको स्याहारसुसार घटेको छ। स्कुले बालबालिकालाई टीभी खोल्दिने र मोबाइल दिने बाहेक अन्य क्रियाकलापमा संलग्न नगराउने स्थिति बढेको छ। यसले बालबालिकाको मनोविज्ञानमा ठूलो असर पारेको छ।’  दुई महिना अघिदेखि जनताको घरदैलोमा व्यस्त कांग्रेस नेता नवीन्द्रराज जोशीको अनुभव हो यो ।चुनावताका जनता जनार्दन, पछि उसकै मानमर्दन ! अधिकांश नेताको प्रवृत्ति हो यो। भोट माग्न घरदैलो पुग्दा नेताहरु धान काट्न सघाउनेदेखि गाग्री बोकिदिनसम्म पछि पर्दैनन्। चुनाव सकिएपछि भने आफ्नै हिसाबकिताबमा व्यस्त हुन्छन्।  चुनाव जित्नेले नै वास्ता नगरेपछि हार्नेको कुरै भएन। त्यसैले त नेताप्रति टिप्पणी हुने गर्छ– जुन जोगी आए पनि कानै चिरेका !

केही अपवाद पनि छन्, जसले जनताका गुनासो सुन्छन्, पर्दा सघाउँछन्। चुनावका बेला मात्र होइन, अरू बेला पनि अधिकांश समय जनताकै आँगनमा देखिन्छन्।

यिनैमध्येका हुन्, कांग्रेस नेता नवीन्द्रराज जोशी। दुवै संविधानसभा निर्वाचनमा निर्वाचित जोशी २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा भने काठमाडौं–८ बाट पराजित भए।

हारेपछि पनि उनी कहिले प्रचारका लागि टाँसिएका सामग्री हटाउन आफैं सडकमा निस्कछन् त कहिले घरदैलोमा। अहिले न चुनाव आएको छ, न त कुनै विशेष कार्यक्रमका लागि जनता उतार्नु छ। तर जोशी मतदाताको घरदैलोमा व्यस्त छन्। कारण हो, कोरोना महामारीबाट बच्ने उपाय सिकाउनु र स्वास्थ्य सामग्री वितरण गर्नु।

जोशी आँगनमा आएपछि स्थानीय दंग पर्छन्। घरबाहिर निस्कन्छन् र कुराकानी गर्छन्। जोशी र उनको टिमले स्वास्थ्य सामग्री वितरण गर्छ। मास्क, जानकारीमूलक पोस्टर, सिटामोल र अक्सिमिटर जोशीले वितरण गर्दै आएका स्वास्थ्य सामग्री हुन्।

अक्सिमिटरचाहिँ जरुरी परेकालाई मात्र वितरण गरिँदै आएको जोशी सुनाउँछन्।

सरकारी उदासीनताले जुराएको अवसर 

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले ६ महिनाभन्दा लामो लकडाउन गर्‍यो। जनता घरभित्रै थुनिए। तर, कोरोना नियन्त्रण हुनुको साटो झन् झन् बढ्न थाल्यो। गम्भीर लक्षणसहितका संक्रमित थपिँदै गए।

संक्रमण दर उच्च भएकै बेला निःशुल्क उपचारबाट सरकार पन्छियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उर्दी जारी गरे– बेहोस् हुने अवस्था नआउन्जेल अस्पताल नजानू।

सरकारको यही अकर्मण्यताले जोशीलाई घरदैलो गर्ने र समस्यामा साथ दिने हुटहुटी जगायो।

‘जनताले ७० वर्ष लामो संघर्ष गरेर अहिलेको व्यवस्था ल्याए। यही व्यवस्थाअनुसार नागरिकले सुरक्षाको अनुभूति गर्न पाउनुपर्ने हो। तर नागरिकप्रति सरकारले पूरै बेवास्ता गर्‍यो। अब केही त गर्नैपर्छ भन्ने लाग्यो,’ जोशीले भने, ‘आमनागरिकलाई थोरै भए पनि भरोसा दिलाउने अठोट गरें।’ अनि उनले कात्तिक २४ गतेदेखि घरदैलो अभियान सुरु गरे।

जोशी जनताका गुनासा, निराशा र अपेक्षा राम्रैसँग बुझ्न पाएको बताउँछन्। स्थानीयले लकडाउनका कारण ‘उकुसमुकुस’ बनेर थुनिएको आवाज जोशीलाई सुनाउँछन्।

जोशी भन्छन्, ‘लोकतन्त्रमा नागरिक कहिल्यै निरीह हुन सक्दैन। नागरिकलाई समस्या परेका बेला दल उभिनुपर्छ। म अहिले जनताको आवाज सुनिरहेको छु।’

जोशीले बटुलेको अर्को अनुभव हो– राजनीतिकर्मीसँग जनताको ठूलो आशा हुँदो रहेछ।’ र त उनले निष्कर्ष निकालेका छन्– राजनीति गर्नेले चुनावका बेला मात्रै होइन, जनतालाई समस्या परेका बेलामा उनीहरुको दैलोमै पुग्नुपर्छ।

खर्च नहुँदा बिरामी घर फर्कने भएपछि… 

घरदैलो अभियान सुरु भएको केही समयमात्रै भएको थियो। जोशीकै निर्वाचन क्षेत्रका एक बिरामी उपचार खर्च नहुँदा अस्पतालबाट फिर्ता आउन लागेकोे सूचना आयो। जोशीले बिरामीका आफन्तलाई उपचार खर्चमा सहयोग गर्ने बताए। तर, आफन्तले मानेनन्। कारण थियो, ती बिरामीको उपचार गर्न दैनिक ७० हजार रुपैयाँ तिर्नुपर्ने रहेछ।

‘बिरामीको नाम बिर्सिएँं। नर्भिक अस्पतालमा उपचार गर्न पैसा नभएको र सरकारी अस्पतालले भर्ना लिन नमानेपछि घर ल्याउनुपर्ने अवस्था बनेछ,’ जोशीले सुनाए, ‘मैले उपचार खर्च सहयोग गर्छु भनें। तर महँगो खर्च व्यहोर्नुभन्दा सरकारी अस्पतालमा भर्ना गर्ने व्यवस्था मिलाइदिन आफन्तले आग्रह गर्नुभयो। त्यसपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गर्ने व्यवस्था मिलाएँ।’

जोशीले घरदैलो मात्रै गरेका छैनन्। समस्या पर्दा डाक्टरहरुसँग २४ सै घण्टा सीधा सम्पर्क गर्ने व्यवस्था मिलाएका छन्। त्यसका लागि पाँच जना डाक्टरसँग सहकार्य गरिएको उनले बताए। वीर अस्पतालको सहकार्यमा बिरामी भर्ना गर्ने प्रबन्ध गरेका छन्।

‘२४ सै घण्टा डाक्टरहरुलाई फोन सम्पर्क गर्ने व्यवस्था मिलाएका छौं। डा. भूपेन्द्र बस्नेत र डा. रवीन्द्र पाण्डेसँगै अन्य तीन जना डाक्टरसँग सहकार्य गरेका छौं,’ उनी सुनाउँछन्, ‘एम्बुलेन्सको व्यवस्था मिलाइएको छ। इमरजेन्सी भर्नाका लागि वीर अस्पतालसँग समन्वय गरिएको छ।’

अभियान सुरु हुँदा उनलाई धेरैले फोन गर्थे। अहिले फोनको चाप कम भएको छ। ‘पहिला धेरै फोन आउँथ्यो। अहिले कम भएको छ,’ उनी भन्छन्, ‘अहिले परीक्षण कम छ। १४ दिनसम्म आइसोलेसनमा बसेपछि निको हुन्छ भन्ने बुझेपछि पनि यस्तो भएको हुन सक्छ।’

अभियानका क्रममा जोशीले बाँड्ने स्वास्थ्य सामग्रीमध्ये सबैभन्दा धेरै माग अक्सिमिटरको छ। ‘यो अलिक महँगो पनि छ। त्यसैलै जरुरी भएकालाई मात्रै वितरण गरिरहेका छौं,’ उनी भन्छन्।

महामारीले पारिवारिक कलह

जोशीको अभियान २५ प्रतिशत पूरा भएको छ। उनले कात्तिकमा अभियान सुरु गरेपछि नौ महिनादेखि घरमै बन्द भएका नागरिक उनलाई भेट्न पाउँदा मात्रै पनि उत्साहित भएको उनले देखेका छन्।

एकातर्फ अभियानले उनलाई ऊर्जा मिलेको छ भने अर्कोतर्फ समाजको भयानक चित्रले उनी निराश छन्। महामारीका कारण जनताको जीवनशैलीमा पारेको प्रभाव निकै खतरनाक रहेको उनको निष्कर्ष छ।

‘रोजगारी गुमाएकाको घरमा ठूलो अशान्ति छ। घरझगडाले निराशा बढेको पाएँ। जागिर दिलाइपाऊँ भन्ने पनि भेटिए। घरलेु हिंसा त बढेकै छ, मादक पदार्थको खपत पनि बढेको रहेछ,’ उनले सुनाए, ‘आर्थिक स्थिति खस्किएको छ। बालबालिकाको स्याहारसुसार घटेको छ। स्कुले बालबालिकालाई टीभी खोल्दिने र मोबाइल दिने बाहेक अन्य क्रियाकलापमा संलग्न नगराउने स्थिति बढेको छ। यसले बालबालिकाको मनोविज्ञानमा ठूलो असर पारेको छ।’

मास्क प्रयोगबारे देखिएको नकारात्मक भावनाले उनलाई हैरान पारेको रहेछ। ‘मैले धेरै वृद्धवृद्धालाई भेटें। उहाँहरु मास्क लगाउनुहुन्छ। तर मैले चिन्दिनँ भनेर मास्क खोल्ने पनि भेटिनुभयो। मास्क लगाउँदा सास फेर्न सकिँदैन भन्ने पनि भेटें,’ उनी भन्छन्, ‘किन मास्क लगाउनु भन्नेहरु भटिनुचाहिँ राज्यले संक्रमणप्रति गरेको हेलचेक्र्याइँका रुपमा बुझेको छु र उनीहरुलाई सम्झाउने गरेको छु।’

दुई महिना लामो अभियानको निष्कर्ष के त ? जोशी भन्छन्, ‘मेरो निकर्ष के हो भने कमजोर आय भएको वर्गलाई स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्छ। राज्यले भत्ता बाँड्ने होइन उपचार र शिक्षामा लगानी गर्नुपर्छ।’साभार नेपाल समय

तपाईको प्रतिक्रिया