विराटनगर : मोरङको रंगेली र डाइनियाबाट दुईजना होटल सञ्चालक युवतीसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले रंगेली नगरपालिका वडा नम्बर ५ आमगाछीस्थित दीपा होटलका सञ्चालक अजय मण्डल र सुनवर्षी–९ डाइनियास्थित समारु होटलका सञ्चालक समारु दासलाई पक्राउ गरेको हो । मण्डल नेकपा माओवादी केन्द्रका कार्यकर्तासमेत हुन् । केही समय अघिदेखि होटलमा युवतीलाई राखेर यौन कार्यमा संलग्न गराएको आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयको सूचना पाएपछि पुगेको प्रहरीले युवतीसहित मण्डल र दासलाई पक्राउ गरेको थियो । हाल चार जनामाथि अनुसन्धान गरिरहेको रंगेली प्रहरीले जनाएको छ । मण्डलले ती युवतीलाई कहिलेकाहीं घरमै लगेर राख्ने गरेको स्थानीयको भनाइ छ । स्थानीयले होटल सञ्चालकलाई कारबाहीको माग गरेका छन् । मण्डल र दासलाई छाड्न माओवादी केन्द्रका विभिन्न नेता र स्थानीय जनप्रतिनिधिको दबाब आइरहेको प्रहरी स्रोतको दाबी छ । होटल सञ्चालक अजय मण्डल रंगेली–५ का वडाध्यक्ष महानन्द मण्डलका आफन्त हुन् । गत वर्षको लकडाउनमा वडाध्यक्ष मण्डलले प्रहरी लगाएर स्थानीयलाई कुटपिट गरेपछि गाउँलेले माफी मगाएका थिए ।

 

 

तपाईको प्रतिक्रिया