झोराहाट नाट्य समूहले कवि एवं पत्रकार मीनकुमार नवोदितलाई सम्मान गरेको छ । हालै नेपाल सरकारबाट युवा वर्ष मोती पुरस्कार प्राप्त गरेका नवोदितलाई बधाईसहित नाट्य समूहले सम्मान गरेको हो ।काठमाडौंभन्दा बाहिर बसेर निरन्तर रुपमा कलम चलाइरहेका नवोदितले नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार प्राप्त गरेकाले खुसी व्यक्त गर्दै थप हौसला बढाउन सम्मान गरिएको झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं ‘बर्बरिक’ले बताए ।
“अरुको प्रगति र खुसीमा झोरहाट नाट्य समूह सधैं खुसी हुन्छ,” गुरागाईंले भने, “नवोदितजीले जुन पुरस्कार प्राप्त गर्नु भएको छ, त्यो काठमाडौंभन्दा बाहिर रहेर साहित्य सिर्जना गरिरहेका हामी सबैका लागि गर्वको कुरा हो । हामी आफैं सम्मानित भएको महसुस गरेका छौं ।”
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्राज्ञ विवश पोखरेलले ढाका टोपीसहित दोसल्ला ओढाएर नवोदितलाई सम्मानपत्र प्रदान गरेका थिए । पत्रकारिता र साहित्यलाई सँगसँगै अगाडि बढाइरहेका नवोदितको केही हप्ताअघि रत्न पुस्तक भण्डार काठमाडौंले ‘समयको बयान’ कवितासङ्ग्रह बजारमा ल्याएको छ उक्त कवितासङ्ग्रह नवोदितको तेस्रो कृति हो ।

तपाईको प्रतिक्रिया