सुकुम्वासीलाई जग्गाको लालपुर्जा र घर प्रदान गर्न विराटनगरको मलंगवा बस्तीमा सञ्चालिन महानगरआवास परियोजनामा काम गर्ने कामदारलाई लक्षित गरी कामका लागि खाद्यान्न कार्यक्रम सञ्चालनमा ल्याइएको छ । महानगर आवास परियोजनाको घर निर्माणमा खटिंदै आएका कामदारलाई मेटलाइफ इन्सोरेन्सले प्रदान गरेको खाद्यान्न बितरण गरिएको हो । महानगर आवास परियोजनामा काम गर्ने व्यक्तिहरूलाई प्रति परिवार २० किलो चामल, दाल, नुन तेल, माक्सलगायतका खाद्यान्न बितरण गरिएको हो । कामदारलाई प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले खाद्यान्न सामाग्री बितरण गर्नुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले विभिन्न दातृ निकाय र संघ संस्थाको सहयोगमा नमुनाका रुपमा सञ्चालनमा ल्याइएको परियोजना सम्पन्न भएपछि प्रदेशका अन्य जिल्लामा पनि विपन्न परिवारलाई लक्षित गरेर सुरक्षित आवासको कार्यक्रम सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । कार्कीले आवास परियोजनाका कामदारलाई काम मात्रै नभई खाद्यान्न पनि आबश्यक रहेकाले मेटलाइफ इन्सोरेन्सको सहयोगमा कामका लागि खाद्यान्न कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो । सुकुम्वासीलाई ऋण दिएर घडेरी किन्न सहयोग गर्ने जिवन विकास समाजका अधिकृत संजय मण्डलले जिवन विकास समाजले सुरक्षित आवासका लागि विपन्न नागरिकलाई सहयोग गर्दै आएको जानकारी दिनुभयो । उहाँले विभिन्न निजकायसँगको सहकार्यमा विशेष गरी सुकुम्वासी र मुसहर परिवारलाई लक्षित गरी आवासको कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा अन्तराष्ट्रिय दातृ निकाय ह्युमानिटी फर ह्याविटाटकी प्रतिनिधि क्रिष्टिनाले समुदाय स्तरबाट सञ्चालनमा ल्याइएको परियोजनालाई सरकारले पनि अपनत्व ग्रहण गरेकाले आफूहरूलाई खुसी लागेको बताउनुभयो । उहाँले सुरक्षित आवासको व्यवस्थापनका लागि हातेमालो गर्न ह्युमानिटी फर ह्याविटाट सँधै तत्पर रहेको जानकारी दिनुभयो । महानगर आवास परियोजनामार्फत सुकुम्वासीलाई जग्गाको लालपुर्जा बितरण गर्ने र घर निर्माणको अभियान गत वर्षदेखि थालिएको हो । विराटनगर –१२ स्थित मलंगवा वस्ती व्यवस्थित गर्ने उद्देश्यले सो बस्तीका १ सय ४५ सुकुम्वासी परिवारलाई घडेरीको लालपुर्जा प्रदान गरिसकिएको छ । हाल धमाधम घर निर्माणको काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया