शिक्षकको कार्य सम्पादन र मूल्याङ्कनमा अंक दिन नपाउने योग्यता रहेका विद्यालयका प्रधानाध्यापकहरु चाकडी, चाप्लुसीको भरमा कति समयसम्म शिक्षण पेशालाई अपमान गर्दै शिक्षकको नेता हुँ भन्ने हैसियत कायम गरी शैक्षिक अराजकता मच्चाउदै शिक्षण पेशालाई बन्दाम गर्दै हुनुहुन्छ। कुनै दिन कोही कसैले सामुदायिक विद्यालयको प्रधानाध्यापक हुनको लागि योग्यता पुगेको छैन भनी अदालतमा मुद्धा दायर गरिदियो भने सम्बन्धित विद्यालय व्यवस्थापन समिति , सम्बन्धित स्थानीय निकायको शिक्षा अधिकारी र विद्यालय निरीक्षक पनि अदालतले कारण देखाउ भनि सोधपुछको लागि बोलाउन सक्ने दिन आउने छ। त्यो दिनको आगमन अगावै स्थान स्वइच्छाले छोडिदिएमा भोलि हुने बन्दामबाट आफु पनि वच्ने र अरुलाई पनि वचाउन सकिने छ।

अव बुझ्नुपर्छ शिक्षकले : विद्यालयको नेतृत्व गर्नको लागि शैक्षिक योग्यता पहिलो खुड्किलो हो भने दोस्रो खुड्किलो सम्बन्धित तहमा शिक्षक सेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण हुनु । प्रत्येक शिक्षकको हक हितको लागि भनी खोलिएका शिक्षक संघ संगठन, र महासंघ भित्र यस्ता शिक्षकहरु प्रशस्त देखिन्छ। आफैंले एकान्तमा रही आफ्नै अन्तस्करणलाई प्रश्न गर्दा आफै खुशी हुन नसक्ने अवस्था छ र अहिलेको राजनैतिक विसंगति पनि तीनै शिक्षकको कारण हो। आजको राजनैतिक नेतृत्व हिजोका विद्यार्थी नै हुन। आफु शिक्षा नियमावलीलाई पालना नगर्ने र आफुलाई मर्यादित बनाउन नसक्ने, शैक्षिक अनुशासन कायम गर्न नसक्ने, तल्लो तहमा स्थायी भएका शिक्षकहरु मावि तहको प्रधानाध्यापक भैइ आफुभन्दा माथिल्लो तहका शिक्षकलाई अधिनमा राख्न खोज्ने शिक्षकले राजनैतिक दलका नेता र अन्य कोही कसै प्रति खवरदारी गर्ने अधिकार छैन। किनकि उनीहरुको एक औंलाले औंला ठड्याउँदै गर्दा अरु ४ औंलाले उनीहरूलाई नै जिस्काईरहेको हुन्छ। अरुलाई अनुशासन सिकाउने शिक्षक, विद्यालयको नेतृत्व गर्ने प्रद्यानध्यापक र शिक्षकको नेतृत्व गर्ने शिक्षक नेताहरु अनुशासित हुनैपर्छ। तपाईं शिक्षकहरु भ्रममा जिउने कोशिस नगर्नुहोस्। शिक्षण पैसा कमाउने पेशा होइन, यो सर्वोत्कृष्ट पेशा हो, मनलाई पढ्ने पेशा हो, विद्यार्थीको सफलता र उनीहरूको मुस्कानले दिने आनन्द सन्सारमा पाइने कुनै अन्य दर्व्यले दिन सक्दैन। यस्तो पेशामा रहेका शिक्षक सबैका पुज्य हुने कोशिस गर्नैपर्छ। तव मात्रै नेपाल भ्रष्टाचार र विसंगति विहिन सफल राष्ट्रको रुपमा अगाडि बढ्नेछ।

शिक्षण आफैंमा मर्यादित र उच्चकोटीको पेशा हो । यसलाई मर्यादित बनाउने कार्य सबैको हो। सबै शिक्षकहरु सबैको आँखामा असल नागरिक हुन सक्नुपर्छ। तल्लो तहको शिक्षक तपाईंको शैक्षिक योग्यता भएपनि शिक्षा नियमावलीले प्रध्यानाध्यापक हुनको लागि तोकिएको तहमा स्थायी हुनुभएको छैन भने त्यस तहको नेतृत्व गर्ने अधिकार तपाईंलाई शिक्षा नियमावलीले दिएको छैन्। हो विद्यालयको नेतृत्व आफैंमा सहज छैन। त्यसमा पनि कोही शिक्षक सबै योग्यताले सम्पन्न नभएको भए तुरुन्त त्यस स्थान अरु योग्यता पुगेकाे शिक्षकलाई छोडिदिनु पर्छ। एक शिक्षकको कारणले अर्को शिक्षक प्राप्त अधिकारको उपयोग गर्ने अवसरबाट वन्चित हुनुहुदैन। अन्यथा तपाईं माथि सधैं प्रश्न उठिरहने छ। एकातर्फ तपाईं विना अतिरिक्त पारिश्रमिकमा कार्य गर्दै हुनुहुन्छ अर्को तर्फ तपाईं माथि सधैं प्रश्न उठिरहेको हुन्छ। यस्ता कार्य तुरुन्तै रोक्नुहोस् र मर्यादित शिक्षक र शिक्षक नेतृत्व बनी शिक्षकहरु पदका लागि होइन आफ्नो पेशा प्रति अब्बल भएको दृष्टान्त मानव समाजलाई पस्कन सक्नु पर्छ।
नेपालमा करिब करिब मानवीय संवेदना हराइरहेकाे अवस्था छ। मानिसहरू धन आर्जनमा जोड दिइरहेका छन्। धन आर्जनको बाटोमा लाग्नु असल कार्य नै हो तर गलत निकायबाट धन आर्जनको बाटोमा लाग्नु अपराध हो। आजको राजनैतिक नेतृत्व, राष्ट्रसेवक, प्रहरी, सेना सबै शिक्षकहरु कै उपज हुन। शिक्षकहरु आफु अनुशासित भै भ्रष्टाचार गर्नु अपराध हो, जनताका कार्य ढिला सुस्ती गर्नु, अरुलाई ढग्नु पनि अपराध नै हो भन्ने कुरा सिकाउन सकेको भए नेपाल सम्वृद्धिको मार्गमा लाग्न सक्ने थियो। शिक्षकहरु आजको राजनैतिक अपराधको सृंखलमा अरुलाई दोषी ठहर्याएर आफुलाई चोखो देखाउनु गलत हो। प्रत्येक विद्यालय र महाविद्यालयमा शिक्षण गर्ने शिक्षकले विद्यार्थीहरुलाई असल आचरण सिकाउन पर्ने हो। आचरण विनाको शैक्षिक योग्यता प्राप्त गरेका व्यक्तिहरु अपराधीक हुन्छन। त्यस्ता अपराधीक सोचबाट सन्चालित राष्ट्र समुन्नत र सभ्य हुन सक्दैन। त्यसैले प्रत्येक शिक्षकले आफ्नो विद्यार्थीहरुलाई धन साधन मात्रै हो, जीवन गुजाराको लागि अनिवार्य छ, तर साध्य चाहिँ होइन भनी सिकाउन सक्नुपर्ने हो। त्यो हुन सकेको छैन।आफै दिग्भ्रमित शिक्षकले यस्ता कार्य गर्न सक्दैनन्। अव सबै शिक्षकहरु आफु सतमार्गमा हिडी आफ्ना विद्यार्थीलाई असल र अब्बल बनाउन सक्नुपर्छ। अनि नेपालको विकास र सम्वृद्धि कसैले रोक्न सक्तैन।

चन्द्र कान्त पण्डित
पशुपति मित्र माद्यमिक विद्यालय
चाबहिल, काठमाडौं।

तपाईको प्रतिक्रिया