नेपाली कांग्रेसले जितेर पनि हारेको चुनाव हो २०७९, चाहे त्यो स्थानीय होस वा संघीय वा प्रादेशिक नै किन नहोस। आज नेपाली कांग्रेसका मतदाताले आफ्नो चुनावी चिन्ह केहो, यसको राजनैतिक विचार केहो र कसको लागि र किन मतमाग्ने भन्ने सवाल नेपाली समाजको टोल टोलमा आवाज उठाएका छन्। सरकार बनाउने बेलामा गठबन्धन चाहिन्छ नै तर स्थानीय देखि संघीय चुनावसम्म पुग्दैगर्दा गठबन्धनको नाम राजनैतिक अस्तित्व मेटिदै छ। यही र यसरी नै अगाडि बढ्दै जाने हो भने कम्निष्टको विचार हावि हुनेछ भने दलीय व्यवस्था को अन्त्य। जसले गर्दा आज नेपालभरि कहीँ घण्टी बजे, कतै लौरो त कतै सुइ। यी घण्टा, लौरो र सुइमा झरेको मत र गठबन्धनमा पनि केन्द्रले गरेको गठबन्धन केन्द्रको लागि हो र जनता जनार्दन हुन्छन र आफ्नो अभिमत मतको आधारमा दिइ कैंयौं ठाउँमा गठबन्धनका उमेदवारहरु नराम्रोसँग पराजित भएका छन्। कति ठाउँमा व्यक्ति हावि हुँदै राजनैतिक पंक्तिमा अरुभन्दा सवल, सक्षम व्यक्तिलाई दलले टिकट नदिएर अन्याय गरेको कारणले हारेको अवस्था छ। अहिलेका प्रत्येक दलका शीर्ष नेताहरु चुनाव जितेर पनि हारेका छन्। अहिलेको वर्तमान राजनैतिक अवस्था गलत तरिकाले अगाडि बढेको छ।

राजा महेन्द्रसँग बिपिले १० वर्षको समयमा प्रत्येक नेपालीलाई मध्यम वर्गीय परिवारमा रुपान्तरण गर्न सक्ने भनी भनेकाे कुरो हामी पढ्न पाउँछौं। २०४६ पछि वर्तमानसम्म आइपुग्दा अपवाद वाहेक नेपाली कांग्रेस करिब करिब परोक्ष वा प्रतक्ष्य रुपमा सत्तामा नै छ। तर केही सिमित नेता, कर्मचारी र व्यापारीको जीवनमा परिवर्तन आएपनि आज गाँउ रित्तिएको छ, शहर प्रदुषित भएको छ, युवा बिदेसिएकाे छ कैयौं नेपालीहरु उपचारको लागि सिटामोल नपाउने अवस्थामा छ।

नेपाली कांग्रेस काठमाडौंमा गठबन्धन हुँदाहुँदै पनि आफ्नै कारणले हारेको छ। सबल नेतृत्व दिए चुनाव जित्नसक्दोरहेछ भन्ने दृष्टान्त क्षेत्र नं ५ काठमाडौंका युवा नेता प्रदिप पौडेलले देखाएका छन भने क्षेत्र न ६ कांग्रेस भित्र अन्तरघातको हल्ला व्यापक छ। दुइ पटकसम्म अधिवेशनबाट काठमाडौं काँग्रेसको जिल्ला सभापति भएको सबुज कृष्ण बानियाँलाई टिकट नदिनु, नेपाली कांग्रेसको नेता मिनेन्द्र रिजाललाई टिकट नदिनु केन्द्रीय नेतृत्वको गलत निर्णय थियो। त्यसैले काँग्रेसले आफुलाई सुधार्नै पर्छ। आफ्नो कार्यकर्तालाई रुख चिन्हमा मत राख्नको लागि अपिल गर्न नसक्ने र अपिल गर्न नदिने केन्द्रीय नेतृत्व पूर्णरूपमा असफल नै हो। यसको सिकार कास्की काँग्रेसमा पनि देखिएको छ। कास्की जिल्ला चुनावको अन्तिम मत गणना सम्पन्न नभइन्जेलसम्म कुन दलले जित्ने हो , कुनै ठेगान हुँदैन। कडा प्रतिस्पर्धा हुने ठाउँ ।तर आज पाँच दलीय गठबन्धन हुँदाहुँदै तीनै सिटमा एमालेले जित्ने सम्भावना प्रवल छ। गठबन्धनले काम गरेको छैन। यस्तै अवस्था रहिरहने हो भने नेपाली कांग्रेसका शिर्ष नेताहरुको जीवन पछाडि नेपाली कांग्रेस पनि थियो भन्ने दिन आउन सक्छ। नेपाली कांग्रेसको चुनावी चिन्ह रुख हो कि हसिया हथौडा वा कलम वा अन्य केही। चुनावको दिनमा युवाहरुको आक्रोश कडा देखिएको थियो जसको नतिजा एकल रुपमा काँग्रेसले चुनाव जितेको स्थानमा पाँचदलीय गठबन्धन हुँदा पछाडि पर्नुपर्यो। दोष कसको?

सत्तामा पुग्नको लागि वहुमत नभएपछि सत्तामा त केही सिट मात्र भएका दल पनि देशको कार्यकारी दल बनेर नेतृत्व गरिसकेको छ नेपालमा। अहिलेको वर्तमान देउवा सरकार, विगतका सुर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द, माधवकुमार नेपाल, प्रचण्ड बाबुराम आदिका सरकार यस्तै उपज हो।

सत्तामा पुग्नु ठूलो कुरो होइन तर सत्तामा पुगी जनपक्षीय कार्य गर्न नसक्नु अपराध हो। २०५२ मा अहिलेको देउवा र प्रचण्ड जस्तै भैदिएको भए नेपाल आज करिब विकसित मुलुकमा पुग्ने थियो। न विकासको लागि खर्चिने बजेट हतियार खरिदमा खर्चन पर्ने थियो न माओबादिले बैंक नै लुट्नुपर्ने थियो। जो मरे पनि आखिर नेपाली नै मरेका थिए। त्यसवेलाको नेपाल सरकार र माओवादी द्वन्द्व नेपालको लागि अभिषाप सिद्ध भैसकेको छ। आज आएर यही दलिय व्यवस्थामा लाग्नुथियो भने त्यो युद्ध कसका लागि थियो? त्यसबेला देउवा सरकारसँग राखेका माग भुपु प्रधानमन्त्री द्वय बाबुराम भट्टराई र प्रचण्डले पुरा गरे नगरेको के हो जवाफ दिनुपर्दैन।

आज बालेन, रविलामिछाने, सोतिमा लगायत अन्यलाई हतियार उठाउन परेन सत्ता र संसदमा पुग्नको लागि शब्द नै काफी भयो। गुल्मीको तीस वर्षे युवा सागर ढकालले डडेलधुरामा पुगी वर्तमान प्रधानमन्त्रीलाई चुनाव दिइएको धक्काले उनीले हारेर पनि जितेका छन्। त्यसैले त भनिन्छ – तरवार भन्दा कलम शक्तिशाली हुन्छ। मार्नेले जहिले पनि जितेर पनि हारिरहेको हुन्छ। फेरी भन्नुपर्छ हतियार भन्दा आवाज अर्थात् शव्द शक्तिशाली हुन्छ। आजको राजनैतिक दलहरुले यति कुरा बुझ्नैपर्छ।
चन्द्र कान्त पण्डित
पोखरा महानगरपालिका वडा नं -३२

तपाईको प्रतिक्रिया