१. गगन कुमार थापाले नेपाली कांग्रेसको केन्द्रीय समितिबाट पारित नगरी आफुलाई प्रधानमन्त्रीको उमेदवार भनेर भन्न सक्ने हैसियत राख्नेले देशको जटिल अवस्थामा पार्टी सभापतिले निर्वाचित महामन्त्रीलाई वेवास्था गर्दा किन त्यो आवाज उठाउन सकिएन?

२. विश्व प्रकाश शर्माले पनि गगन कुमार थापालाई संसदीय दलको नेताको प्रस्तावक बनी प्रधानमन्त्रीको लागि अगाडि सार्ने भन्ने आँट भएको निर्वाचित महामन्त्रीले सरकार गठनको लागि हस्तक्षेप गरी बहस चलाउने आँट गर्नै पर्ने थियो। त्यसो गरिएन। किन?

३. क. नेपाली कांग्रेसका निर्वाचित महामन्त्री, उपसभापति र केन्द्रीय सदस्य लगायत संसदमा निर्वाचित सदस्यहरू भेला गराई देउवालाई दवाव दिनुपर्ने थियो। फोन कुरेर बस्नु राजनैतिक रुपमा कच्चा पन नै हो। जुन बेलामा दवाव र छलफल जरुरी थियो त्यो बेलामा आवाज उठाउन नसक्नु कमजोरी नै हो, हैन र?

३. ख. एकनेपाली कांग्रेसका कार्यकर्ता गठबन्धनको विरुद्धमा थिए, तर गठबन्धन नगरी आँउदो चुनावको लागि पनि आफ्नो कार्यकर्तालाई संरक्षण गर्न नसकी काँग्रेसको मतले अरुलाई जिताइदिने र केही मुट्ठी भरका नेताहरु अरुको मतबाट विजेता बन्नु पनि गलत नै थियो। यसमा पनि सबै चुकेको देखिन्छ। त्यसमा पनि यो गठबन्धन सगौरभ १५ बर्षसम्म अगाडि बढ्छ भनेको भिडियो भाइरल छन्। सरकारको नेतृत्व गर्न त कि बहुमत चाहिदोरहेछ, कि कुटनितिक पहल। कुटनितिक पहलमा पूर्ण रुपमा चुकेको नै हो, हैन र?

४. देउवा र उहाँको कोटेरी भित्रका मानिसको पूर्व कल्पना presupposition गलत ठहरियो। उनीहरूलाई लागेको हुनुपर्छ – काँग्रेस ठूलो दल भएको नाताले सरकार गठन गर्ने पालो काँग्रेसको नै हो। देउवाको सत्ता प्रतिको मोह र गुरु द्रोणाचार्यको छोरा प्रतिको मोह एकै हो। जसको कारणले युद्धमा उनी मर्नु पर्यो छोरा अशोस्थामा आज पनि जिउँदै छन् भन्ने गरिन्छ। जुन रोजाइ अधर्मको थियो। त्यही राजनैतिक रूपमा अधर्मको बाटो रोजियो: आफु ठिक अरु बेठीक। त्यसैले आज राजनैतिक र कुटनैतिक रुपमा समग्र काँग्रेस असफल भएको छ: साधरण कार्यकर्ता देखि केन्द्रीय पदाधिकारी सम्म। सामान्य कार्यकर्ताले , सक्रिय कार्यकर्ता र सक्रिय कार्यकर्ताले महासमिति देखि केन्द्रीय नेतृत्व चयन गर्ने बेलामा ठिक व्यक्तिलाई सही ठाउँमा पुर्याउन नसक्नुको कारणले आज नेपाली कांग्रेस दल, दल दलमा फसेकाे छ।

५. देउवाको मै खाउँ मै लाँउ सुखसयल वा मोज मै गरु भन्ने भावले काँग्रेसले केही बढी सङ्ख्या जितेर पनि यत्तिको लज्जाबोध हुने र अपारदर्शी कार्य कहिले पनि काँग्रेसको इतिहासमा गरेको थिएन।

६. सत्ताले मानिसलाई बहिरो र अन्धो दुबै बनाँउछ। त्यसको आँकलन गर्न सकेनन्। कमसेकम नयाँ पिढिलाई संसदीय दलको नेता नदिएपनि काँग्रेसको इतिहासमा उनी भन्दा अग्रज रामचन्द्रलाई छोडिदिएको भए संसदीय दलको नेता चयनमा चुनाव नहुनसक्ने भाव विश्व प्रकाशको भनाइमा झल्किन्थ्यो र केही मात्रामा पनि इज्जत जोगिने थियो। दुई तिहाईको इतिहास बोकेको काँग्रेस आज आएर समानुपातिकको मतको आधारमा दोस्रो छ। गौरव गर्ने स्थान कहीँ छैन, छ त?

७. आफ्नो एकल बहुमत नभएपछि सिङ्गो टुक्रे बाटोमा लागि सिङ्गो बनाउन पर्ने हो तर त्यसो गर्नको लागि त्याग चाहिन्छ, त्यो त्यागको अभाव नेतृत्वमा देखियो। त्यसैले राजनिति गर्ने जो कोहीले पनि एकपटक भगवान कृष्णको साथी सुदामा र उनको श्रीमती वसुन्धरा पढ्नुपर्छ। त्यसमा पनि आरजु राणाले। कृष्ण भगवानको आग्याले स्वर्ग निर्माता विश्वकर्मालाई सुदामाको कुटिलाई कृष्णको जस्तै दरवार निर्माण गर्ने गएको बेला वसुन्धराले आफ्नो सबै छिमेकीको घर महल बनाएपछि मात्र बनाउन दिने नत्र नदिनेभनेपछि कृष्णको आदेशले बृन्दापुरीका सबै झुपडी महलमा परिणत गरिदिएका थिए।
त्यो बुझेको भए यो दुर्गति हुने थिएन।

८. सुदामालाई गलहत्याउने राजा उनको श्रीपेच लगाइ राजा बनाउन खोज्दा समेत उनले त्यो श्री पेच राजालाई नै सुँहाउँछ भनी श्रीपेच त्यागेका थिए तर कठै नेपाली नेताहरु। आर्यघाटले निम्तो नदिएसम्म पिछा गरिरहने अर्थात् बुढो गोरुको चालमा छ, हैन त?

९. न देशलाई विकास दियो न निकास। नेपाली युवालाई विदेशमा वेचेर सत्ता चलाउने नेता के नेता! अद्ययन, रोजगार, र उपचारको लागि विदेशिन पर्छ भने नेपालको सरकारको दायित्व केहो। दायित्व बोध गर्न नसक्ने नेतृत्व के नेतृत्व। नेपालका अस्पतालहरू , विश्वविद्यालयहरू अर्थहिन बन्दै छन् किन?

१०. अलिअलि पलाएको हुटहुटीले चाहिने बेलामा बोल्नसकेन, हस्तक्षेप गर्न नसकेकै हो। त्यसैले हुटहुटीलाई सही समयमा सदुपयोग गर्न जान्नु पर्छ। तर यसो हुन सकेन। किन?

११. आज आएर चुनाव अगाडिको गठबन्धन गलत राजनैतिक अभ्यास थियो भन्ने पुष्टि भयो। यो केही मुट्ठीभरका नेताको स्वार्थ पुर्तिको लागि साधन थियो भन्ने सन्देश दिएको छ।

१२. आज नेपाली कांग्रेसलाई ४० वर्षे चिलको अवस्थामा छ। कि मर कि बदल। आफुलाई बदल्न सक्ने चिल १५० दिनको अनवरत अभ्यास पछि उसको कुप्रिएको ठुँड / चुच्चोलाई ढुङ्गामा रगडी धारिलो पारी पुराना अर्थहिन प्वाँखलाई उखेलेर फाली नयाँ जीवन पाएझैं अरु ३०/४० वर्ष जिउन योग्य बनाउँछ‌।आज काँग्रेसको अवस्था त्यही छ। काँग्रेसले अव पनि आफुलाई सुधारेन भने, एकै व्यक्तिलाई पैतृक सम्पत्ति प्राप्त गरे झैं सधैं टाँसिरहने गर्छ भने अर्को चुनाव सम्ममा अस्तित्व मेटिन सक्छ। एक चरा चिलले त आँफुलाई पुनर जीवन ल्याउन सक्छ भने ७७ जिल्लामा रहेका प्रत्येक स्थानीय तहमा समेत आफ्नो संगठन भएको दल अवको पाँच वर्ष असल प्रतिपक्षको भुमिकामा रहनसक्नुपर्छ। या नेपालका नेता राजनैतिक अस्थिरताका उपज र व्यक्तिगत स्वार्थका पुन्ज हुन , के थाह २ वर्ष पछि पुन पालो आउन सक्छ। पालो आएमा के गर्ने योजना बुनेर बस्नु नेपाल र नेपालीको उन्नतिको लागि।

१३. आजको दिनमा आएर केपी वोलि चतुर राजनीतिज्ञका रुपमा स्थापित गरे। काँग्रेसलाई माछो माछो भ्यागुतो र पानी वारावारको माओवादीलाई उनको शरणमा पुग्ने बनाउन सफल रहे। दुई मुख्य पद सभामुख र राष्ट्रपति हातपार्ने भएपछि पछिका दिनमा खेल खेल्न पनि सजिलो हुने वातावरण तयार पारे।

१४. सबैलाई आफ्नो भुमिकामा रही पाँच वर्ष सफलताका साथ संसद चलोस, र राजेन्द्र लिङ्गदेलले भनेको शब्द र प्रचण्डले काँग्रेसको अधिवेशन नेतालाई चोर भन्छन भनी सोधेको र दर्शकबाट हो र भन्छन भनी गरिएको पुष्टाई गलत सावित गरी सर्वस्वीकार्य नेताको रुपमा पहिचान बनाइ नेपाल र नेपालीको कल्याणका लागि काम गर्ने नेतृत्वको रुपमा अगाडि बढ्नुहोस्, यही रह्यो मेरो तर्फबाट सफलताको शुभकामना।

१५. नेपाली कांग्रेसका नेतृत्व हिजो देखि आजसम्म समग्रमा चुकेको छ। मातृका र बिपीको द्वन्द्व/ गिरिजाप्रसाद सधैं आफु ठिक र अन्तरघातको योजनाकार/ गिरिजाप्रसाद स्वार्थी देख्ने देउवा उनकै मार्गमा लाग्नु। त्यागमा इज्जत र मान भएको कुरा बिर्सेको छ काँग्रेसले। गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईको उचाई त त्यागले नै सिर्जना गरेको हो। खोइ बुझेको?

तपाईको प्रतिक्रिया