काठमाडौं । नेकपाभित्रको विवाद साम्य हुँदै गएको छ । विवाद साम्य भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार चितवडको माडी पुगेर बताए । विवादको अन्त्यका लागि कुनै सहमति भएको सार्वजनिक भएको छैन । तर, यसबीचमा राजनीतिक वृत्तमा विभिन्न दृश्य देखिए । एक, पार्टीको स्थायी कमिटी बैठक स्थगित गरेर अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच वान अन वान वार्ता र अर्काे चिनियाँ राजदूत होउ यान्छीको राजनीतिक भेटघाट रहेको छ ।

पहिलोले भन्दा दोस्रोले नेकपाभित्रको विवाद मिलाएर ओलीलाई सरकारमा टिकाउन सफल भएको विश्लेषण गरिन थालिएको छ । यसअघि फागुनमा पनि ओली सरकारको आयू लम्बाउन राजदूत यान्छीको भेटवार्ताले भूमिका खेलेको थियो । र अहिले पनि सोही भूमिकाले ओलीलाई सत्तामा टिकाउन सफल भएको टिप्पणी हुन थालेको हो ।

कुनै बेला नेपालको राजनीतिक गति र सत्ता परिवर्तनमा भारतको हस्तक्षेप रहने बताउँदै आइएका बेला अब चीन पनि नेपालको राजनीतिमा खुलेरै आफ्नो चाहना र इच्छाअनुसार गतिविधि गर्न थालेको छ । प्रधानमन्त्री र अध्यक्षबाट ओलीलाई राजीनामा दिन प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमलगायत स्थायी कमिटी सदस्यहरुले माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।

तर, विवाद बढ्दै जाँदा राजदूत यान्छीको सक्रियता पनि बढेको थियो । भारतले ओली सरकार ढाल्न लागेको बताइएका बेला चीनले जोगाइदिएको टिप्पणी पनि हुन थालेको छ । ओली सरकारको डगमगाउन थालेपछि राजदूत यान्छीले लगातार राष्ट्रपतिदेखि नेकपाका शीर्ष नेतासम्मलाई भेट गरिन् । असार १९ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेकी उनले असार २१मा माधवकुमार नेपाल, असार २३ मा झलनाथ खनाल र असार २५ प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् ।

उनको राजनीतिक सक्रियतासँगै नेकपाको विवाद मथ्थर देखिएका बेला शनिबार प्रचण्डले विवाद मिलेको प्रतिक्रिया दिएका हुन् । तर, ओली र प्रचण्डबीच के के विषय कस्तो सर्तसहित विवाद मिलेको हो भन्नेमा केही सार्वजनिक भएको छैन । यसरी नेकपाको विवाद मिलाउने कार्यमा भूमिका खेलेकी राजदूत यान्छीको यो पहिलोपटक होइन । यसअघि पनि उनले ओलीको सत्तालाई जोगाइदिएकी थिइन् ।

भारतको हस्तक्षेप रहँदै आएको नेपालको राजनीतिमा अब चीनको पनि प्रत्यक्ष प्रभाव पर्न थालेको छ । चिनियाँ कम्युनिस्ट पार्टी र नकेपाबीच सम्बन्ध गाढा बन्दै गएपछि दुवै पार्टीबीच संयुक्त प्रशिक्षण हुनथालेको छ ।

तपाईको प्रतिक्रिया