मोरङ प्रशासनले चारवटा स्थानीय तहमा निषेधाज्ञा जारी गरेको छ । संक्रमण तीब्र रूपमा फैलिएका कारण प्रशासनले चार स्थानीय तहका प्रभावित वडामा पाँच दिन निषेधाज्ञा जारी गरेको हो ।शुक्रबारबाट राति १२ बजे बाट लागू हुनेगरी विराटनगर महानगरपालिका, रंगेली नगरपालिकाका चार वटा वडा, कटहरी गाउँपालिकाका पाँच वटा वडा र बुढीगंगा गाउँपालिकाका चार वटा वडामा निषेधाज्ञा जारी गरेको हो ।शुक्रबार राति १२ बजेबाट सुरु हुने निषेधाज्ञा १० भदौं राति १२ बजेसम्म कायम रहने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिए ।उनका अनुसार विराटनगर महानगरपालिकाका सबै वडामा निषेधाज्ञा जारी गरिएको छ । रंगेली नगरपालिकाका ४,५,६ र ७ नम्बर वडा, कटहरी गाउँपालिकाको १,२,३,४ र ५ नम्बर वडा र बुढीगंगा गाउँपालिकाको १,२,३ र ४ नम्बर वडामा निषेधाज्ञा जारी गरेको हो ।जिल्ला प्रशासन कार्यालयले जिल्लाभर राति ९ बजेबाट हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । संक्रमण फैलिएका कारण राति नौ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाएको हो ।प्रशासनले निषेधाज्ञा जारी भएको स्थानमा घरबाट बाहिर ननिस्कन अपिल गरेको छ । निषेधाज्ञाको उल्लङ्घन गरे कानूनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।बजार क्षेत्रमा अतिआवश्यक खाद्यबस्तु, इन्धन, तरकारी फलफूल, डेरीलगायत पसल बिहान ९ बजेपछि खोल्न नपाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया