नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले नेपाली महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताएका छन् ।नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आयोजना गरिएको सप्ताहव्यापी भर्चुअल कार्यक्रममा शुक्रबार उनले नेपालको राजनीतिक आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताए । “नेपालमा भएका हरेक परिवर्तनमा महिलाको महत्वपूर्ण भूमिका रहेको छ, महिला आन्दोलनका कारण महिला अधिकार स्थापित भएको हो”, उनले भने। राजनीतिमा महिला सहभागीता बढाउनु जरुरी रहेको उनको भनाई थियो । केन्द्रीय सदस्य एवम् सांसद डा डिला सङ्ग्रौलाले नेपाली राजनीतिमा महिला सशक्तिकरण हुन नसकेको बताइन् । “महिला अधिकार र सशक्तिकरणलाई काँग्रेस नेतृत्वले चिन्न सकेन”, उनले भनिन् । महिलामाथिको हिंसा विरुद्धमा महिला सङ्घ लड्नुपर्ने उनको भनाई थियो । नेत्री सङ्ग्रौलाले महिलालाई आर्थिक सवलीकरण र सशक्तिकरणमा महिलालाई जोडेर राजनीतिमार्फत महिला अधिकार प्राप्तीका लागि लड्नुपर्ने बेला आएको उल्लेख गरिन् । प्रदेशसभा सदस्य पुष्पा चौधरीले महिला हिंसा अहिलेसम्म पनि नघटेको भन्दै यसका विरुद्ध सिङ्गो महिला एक भएर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् । पितृसतात्मक सोचलाई चिर्न महिलाहरु लाग्नुपर्ने उनको भनाई थियो । काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले मङ्गलादेवी सिंह साहसी र विद्रोही महिला भएको उल्लेख गरे । “मङ्गलादेवी सिंहले गरेको क्रान्तिका कारण पछिल्लो समय नेपाली महिला नेतृत्वमा पुग्न सकेका छन्”, उनले भने ।काँग्रेस महासमिति सदस्य रेखा यादव, महिला सङ्घका महासचिव धना खतिवडा,  कमला राजभण्डारीलगायतले महिलालाई संविधान र पार्टीले अधिकार दिएपनि अधिकार कार्यान्वयनका लागि महिलाहरु लाग्नुपर्ने बेला आएको बताएका थिए ।

तपाईको प्रतिक्रिया