मोरङको सुनवर्षी नगरपालिका–७ बाट सोमबार साँझ बाँध फुटाएर बक्राहा खोला बस्तीतिर पसेको छ ।चैता र मल्धैयाको बीचबाट १५ मिटर जति बाँध तोड्दै खोलो बस्तीमा पसेपछि चार परिवार विस्थापित बनेका छन् ।सतारु ऋषिदेव, विलाश ऋषिदेव, बरुण ऋषिदेव र लक्ष्मण ऋषिदेवको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।बाढीले घरमा क्षति गरेपछि सतारुको पाँच, विलाशको तीन, बरुणको छ र लक्ष्मणको चार जनाको परिवारले बासस्थान छाड्नु परेको हो ।बाढीसहितको खोलो गाउँ पसेका कारण विस्थापित बनेका उनीहरुलाई उद्धार गर्दै नजिकैको विद्यालयमा लगेर राखिएको छ ।बाढी पीडितको उद्धारका लागि नगरपालिकाका मेयर कालीप्रसाद दास लगायतका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालको नेत्रृत्वमा प्रहरी खटिएका थिए ।स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीले रातभर अस्थायी बाँध बनाउँदै नियन्त्रण गरेर खोलोलाई पुरानै धारा फर्काउने प्रयास गरे पनि सम्भव नभएको जानकारी मेयर दासले दिए ।उनकाअनुसार बोरामा माटो भर्दै र बाँस गाड्दै खोलो नियन्त्रणको प्रयास गरिएको थियो ।खोलो बाँधबाट पसेर बस्तीदेखि बग्न थालेपछि सुकुुम्बासी बस्तीका डेढ सय घरपरिवार जोखिममा परेको जानकारी दासले दिए ।जोखिममा परेकाहरु मल्धैयाका बासिन्दा हुन् ।उनीहरुलाई सुरक्षित स्थानतर्फ सर्न र सतर्क रहन आग्रह गरेर उद्धार गरेर जोखिमबाट मुक्त गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।मेयर दासले खोलो तत्काल नियन्त्रण गर्न नसके धनजनको ठूलो क्षति हुन सक्ने बताए ।‘विभिन्न प्रयास गर्दै खोलो नियन्त्रण गरेर जोखिममा परेकाहरुलाई सुुरक्षित बनाउने तथा सुरक्षित स्थानतर्फ सार्ने काममा केन्द्रीत भएका छौं,’ उनले भने, ‘चाँडो गरेर समस्या समाधान गर्न सकिएन भने थप जटिलता निम्तने भएकाले जिल्ला प्रशासन कार्यालय लगायतका निकायलाई खवर गरेर सहयोगका लागि आग्रह पनि गरिएको छ ।’

तपाईको प्रतिक्रिया